सहकारीले विद्युतीय माध्यमबाट साधारणसभा गर्न पाउने (सूचना सहित)

संयोजन संबाददाता

काठमाडौं: सहकारी संस्थाहरुले विद्युतीय माध्यमबाट साधारणसभा गर्न पाउने भएका छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि सहकारी विभागले सूचना जारी गर्दै प्रविधिको प्रयोग गरी साधारणसभा गर्न सक्ने व्यवस्था गरेको हो ।

कोभिड–१९ को महामारी बढ्दै गएपछि विभागले वैकल्पिक व्यवस्थाबाट साधारणसभा गर्न पाउने बाटो खुल्ला गरेको हो । विद्युतीय प्रविधिको प्रयोग गरेर वा १५ दिनको समय दिएर साधारणसभा गर्न सकिने व्यवस्था गरेको हो ।

संस्थाहरुले तोकिएकै समयभित्र लेखापरीक्षण गरी साधारणसभाभन्दा १५ दिनअघि प्रतिवेदन सदस्यलाई पुर्याउनुपर्ने छ । प्रतिवेदन प्राप्त भएपछि सदस्यहरुको सुझाव, सल्लाह र संशोधन प्रस्ताव साधारणसभाको एजेन्डामा समावेश गर्नुपर्नेछ ।

त्यसपछि संस्थाहरुले विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न सक्नेछन् । साधारणसभाको सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने र त्यसको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिनभित्र पेश गर्नु पर्नेछ ।

विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न नसक्ने संस्थाहरुले भने १५ दिनको समयसीमा दिएर उपस्थिति पुस्तिका राखेर साधारणसभा गर्न सक्नेछन् ।

सरकारले सर्वसाधारणलाई भेला हुन र सभा सम्मेलन गर्न रोक लगाएको अवस्थासम्म यो निर्देशन लागू हुने र अवस्था सामान्य भएपछि ऐनको व्यवस्था अनुसार नै हुने विभागको सूचनामा उल्लेख छ ।

यस्तो छ सहकारी विभागले जारी गरेको सूचना :

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार