प्रकाशित मिति :

कोभिड संक्रमणले बैंकिङ क्षेत्र प्रभावित

संयोजन संबाददाता

काठमाडौं : कोभिड १९ को दोस्रो लहरका कारण सिर्जित निषेधाज्ञा दोस्रो सातामा चलिरहँदा बैंकिङ सेवा पनि दिन प्रतिदिन प्रभावित बन्दै गएको छ ।

निषेधाज्ञाको अवधिमा पनि अत्यावश्यक सेवाका रूपमा सञ्चालन अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरूको सेवा औसतमा एकचौथाइभन्दा कममा खुम्चिसकेको छ भने कतिपय जिल्लाहरूमा ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकले यथासम्भव कम कर्मचारीको उपस्थितिमा सकेसम्म कम शाखामार्फत वित्तीय सेवा दिन निर्देशन गरिसकेको छ । शाखा कार्यालयमा बढीमा २५ प्रतिशत र केन्द्रीय कार्यालयको हकमा बढीमा २० प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित भएर पूर्ण स्वास्थ्य सावधानीका साथ सेवाप्रवाह गर्न राष्ट्र बैंकको निर्देशन छ । बैंकवित्त र सेवाग्राही दुवैले सकेसम्म विद्युतीय कारोबारमा जोड दिन राष्ट्र बैंकको अनुरोध छ । तर, बैंकका शाखाहरू २५ प्रतिशत कर्मचारीबाट सञ्चालन गर्न सकिने अवस्था छैन ।

निषेधाज्ञाको पहिलो साता करिब ५० प्रतिशत कर्मचारीको उपस्थितिमा प्रायः शाखामार्फत सेवा दिएका बैंकहरूले दोस्रो सातादेखि सेवालाई निकै सीमित बनाएका छन् । बैंकहरूले धेरैजसो शाखाहरू साताको एक दिन मात्र खोल्ने तालिका निर्धारण गरेका छन् । प्रमुख स्थानहरूका शाखाहरूको हकमा सातामा ३ दिन खोल्ने नीति लिइएको छ । सेवाप्रवाह हुने समयमा पनि बैंकहरूबीच एकरूपता देखिएको छैन । कुनै बैंकले १० बजेदेखि २ बजेसम्म त कुनैले १ बजेसम्म सेवाप्रवाहको अवधि तोकेका छन् ।

प्रतिकृया दिनुहोस्: