Paradise Web Nepal

संविधान संसोधन विधेयक राष्ट्रियसभाद्वारा पनि सर्वसम्मत पारित

संयोजन संबाददाता

काठमाडौं : नेपालको संविधान दोस्रो संसोधन विधेयक राष्ट्रियसभाले समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

आज सम्पन्न भएको मतदानमा राष्ट्रियसभाका ५८ सदस्यमध्ये आजको बैठकमा उपस्थित भएका सबै ५७ जना सांसदहरुले विधेयकको पक्षमा मतदान गरेका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले एक पद रिक्त रहेको छ ।

बैठकमा उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा मतदान गरेपछि सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मतदान नगरेका कारण ५७ जना सांसदहरुले मतदान गरेका हुन् ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संसोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो । राष्ट्रियसभाले पारित गरेपछि संविधान संसोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी संघीय संसद सचिवालयको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार