ट्रम्पमाथि आगामी निर्वाचन जित्न चिनिया राष्ट्रपतिसँग सहयोग मागेको आरोप

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिको निर्वाचन जित्नका लागि सहयोग गर्न चीनका राष्ट्रपति सि चिनफिङसँग सहयोग मागेको आरोप लागेको छ । उनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनको यसै महिना प्रकाशन हुने पुस्तकमा ट्रम्पले व्यक्तिगत रुपमा नै सहयोग मागेको उल्लेख छ ।

आगामी २३ जुनमा ‘द रुम ह्वेर इट ह्यापेन्ड’ शीर्षकमा प्रकाशित हुन लागेको पुस्तकलाई उधृत गर्दै विभिन्न अमेरिकी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । सीएनएनले उक्त पुस्तकको एक प्रति प्राप्त भएको जनाउँदै ट्रम्पले सि चिनफिङसँगको प्रत्यक्ष भेटमा गरेका प्रस्तावहरु उल्लेख गरेको छ ।

ओशाकामा गत वर्ष भएको जी–२० राष्ट्रहरुको बैठकमा ट्रम्पले ‘आश्चर्यजनक’ ढंगमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनबारे वार्ता गरेको बोल्टनले उल्लेख गरेका छन् । बैठकमा कृषिजन्य वस्तुको चीनले खरिद बढाउनुपर्ने भन्दै निर्वाचनमा सहयोग पुग्ने बताएका थिए ।

गत वर्ष नै भएको जी–२० को अर्को बैठकमा चिनिया राष्ट्रपति सिले ट्रम्पलाई उइगुर मुस्लिमहरुलाई राख्न ठूलो हिरासत कक्ष बनाइरहेको बताएका थिए । यसलाई ट्रम्पले समर्थनग गर्दै उचित भएको पनि बताएका थिए ।

आगामी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले चिनलाई नै केन्द्रिय मुद्दा बनाउने तयारी गरिरहँदा बोल्टनको पुस्तक आउन लागेको हो । ट्रम्प उनका प्रतिस्पर्धी जो बाइडेनभन्दा बढी चीनसँग कडा रुपमा प्रस्तुत हुने योजनामा छन् ।

ट्रम्प प्रशासनले बोल्टनको पुस्तक प्रकाशन हुन नदिन भरमग्दुर प्रयास गरिरहेको पनि बताइएको छ । गत जनवरीमा ह्वाइट हाउसले उक्त पुस्तकमा अति गोप्यमा वर्गिकृत राष्ट्रिय सूचना राखिएकाले हटाउनुपर्ने जनाएको थियो । तर, त्यसलाई बोल्टनले अस्वीकार गरेका छन् ।

बोल्टन अप्रिल २०१८ मा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका थिए । उनले सेप्टेम्बर २०१९ मा नै ह्वाइट हाउस छाड्ने निर्णय गरेका थिए ।

तर, ट्रम्पले भने बोल्टन उनका मुद्दाहरुमा कडा रुपमा असहमत भएका कारण हटाएको बताएका थिए । ह्वाइट हाउसबाट हटेको एक वर्ष नहुँदै निर्वाचनको मुखैमा उनको पुस्तक प्रकाशित हुन लागेको हो ।

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार