Paradise Web Nepal

ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघ्याे, ४१ हजारकाे मृत्यु

संयोजन संबाददाता

दक्षिण अमेरिकी मुलुक ब्राजिल पछिल्लाे समय कोरोना भाइरस (कोभिड– १९) महामारीको नयाँ केन्द्र बनेकाे छ । सबैभन्दा बढी संक्रमित रहेकाे संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस ब्राजिलमा फेला परिरहेका छन् ।

ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघेकाे छ । बिहीबार ब्राजिलमा एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार २६१ जनाकाे ज्यान गएकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ ।

कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म जम्मा संक्रमित संख्या ८ लाख ५ हजार ६४९ पुगेकाे छ । त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४१ हजार ५८ पुगेकाे छ । मृत्युका हिसाबले अहिले ब्राजिलले बेलायतलाइ उछिन्न लागेकाे छ । बेलायतमा अहिलेसम्म ४१ हजार २७९ जनाकाे मृत्यु काेराेना भाइरस संक्रमणकै कारण भएकाे छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ३ लाख ९६ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार