सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

संयोजन संबाददाता

काठमाडौं : सरकारले सार्वजनिक सवारीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पूरै सिटमा यात्रु बस्न दिने निर्णयसँगै अब सार्वजनिक सवारीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

सरकारले यसअघि काठमाण्डाै उपत्यकामा भदौ २५ गतेदेखि र लामो दूरीका सवारीमा असोज १ गतेदेखि आधा सिटमा मात्र यात्रु राखेर चलाउन दिएको थियो । यसरी आधा सिटमा मात्र यात्रु राख्न तोकिएको भाडामा ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था थियो । तर व्यवसायीले भने तोकिएकोभन्दा दोब्बरसम्म भाडा लिँदै आएका गुनासो यात्रुको छ ।

त्यही निर्णयलाई उल्ट्याउँदै सरकारले अब सार्वजनिक सवारीका पूरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलवार