Paradise Web Nepal

राष्ट्रिय परीक्षा बोर्डले नै एसईईको प्रमाणपत्र दिन्छः शिक्षामन्त्री पोखरेल

संयोजन संबाददाता

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाटै जारी हुने बताएका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्षको एसईई परीक्षा नलिने र विद्यालयहरुको आन्तरिम मूल्याङकनकै आधारमा विद्यार्थीको ग्रेडिङ गर्ने निर्णय गरेको थियो । २०७६ चैत ६ गतेदेखि सञ्चालन हुने तय भएको एसईई कोभिड–१९ का कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो ।

‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, मन्त्री पोखरेलले बिहीबार ट्विट गर्दै भनेका छन् ।

उनले कोभिड–१९ महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर मन्त्रिपरिषदले यस्तो निर्णय लिएको पोखरेलको भनाइ छ । यस्तै ‘माध्यमिक शिक्षाको कक्षा १० को अन्तिम परीक्षाबारे दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार