Paradise Web Nepal

बन्दाबन्दीमा प्रदर्शन गरे ६ महीनासम्म जेल, ६ सयसम्म जरिवाना : गृह मन्त्रालय

संयोजन संबाददाता

काठमाडौँ: सरकारले बन्दाबन्दीको समयमा आन्दोलन गर्नेलाई ६ महीनासम्म जेल सजाय हुने भन्दै सडकमा प्रदर्शन नगर्न चेतावनी दिएको छ । विभिन्न बहानामा सडकमा प्रदर्शन भइरहेको भन्दै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर कारवाही गर्ने चेतावनी दिएको हो। 

गृहले देशभर सरकारकाे कामकारबाही विरुद्ध जारी आन्दोलन राेक्न देशभर रहेका जिल्ला प्रशासन कार्यालयलाई  परिपत्र समेत गरेकाे छ। 

केही दिनयता सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएपछि गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको हो । सरकारले खर्च गरेको १० अर्बको पारदर्शिता माग गर्दै, पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै र क्वारेन्टिनलगायत विभिन्न स्थानमा अलपत्र नागरिकको स्वास्थ्य उपचार र जीवन रक्षाको माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै प्रदर्शन भइरहेका छन् । त्यस्तै पोखरा, विराटनगरलगायत देशका विभिन्न सहरमा सरकारविरुद्ध असन्तुष्टि अभिव्यक्त भइरहेको छ। 

“केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्‍वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरूलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” गृहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने चेतावनी दिइएको छ।

“बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महीना देखि ६ महीनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार